प्राणी र पानी

विश्वमा स्वच्छपानीको दिगो व्यवस्थापनका लागि सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनले सिफारिस गरेअनुसार सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउने गरिएको छ । नेपालमा पनि पानीको स्रोतको संरक्षण, गुणस्तरीय पानीको सहज एवं सर्वसुलभ वितरण र व्यवस्थापनमा जनचेतना जगाउने कार्यक्रम आयोजना गरिँदै आइएको छ । तर यस्ता कार्यक्रमहरू औपचारिकतामा मात्र सीमित छन्, प्रतिफल सतहमा देखिएको छैन । मेलम्चीको पानीका पाइपबाट पानी चुहिएर खेर गइरहेको दृश्य यसको मजबुत गवाही हो । जीवनका हरेक पक्षमा आवश्यक पर्ने स्वास्थ्य तथा सक्षम जनशक्तिको विकास र अन्ततः गरिबी निवारणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने न्यूनतम आधारभूत आवश्यकताको रुपमा रहेको पानी क्षेत्रको विकासका लागि विगत योजनादेखि नै प्राथमिकताका आधारमा कार्यक्रम सञ्चालन गरिँदै आए पनि तिनले प्रभावी परिणाम दिन सकेका छैनन् ।

संसारमा २ अर्ब २० करोड जनसंख्या सुरक्षित खानेपानीको पहुँचबाट तथा चार अर्ब २० करोड मानिस आधारभूत सरसफाइबाट वञ्चित रहेको तथ्यांक छ । नेपालको कुरा गर्ने हो भने उच्च हिमाल एसिया क्षेत्रकै पानी ट्याङ्कीका रुपमा रहेका छन् र १ अर्ब ५० करोड जनसंख्या त्यससँग प्रत्यक्ष जोडिएका छन् । तर जलवायु परिवर्तनको सबैभन्दा बढी असर पानीकै क्षेत्रमा देखिँदैछ । हिउँले सेताम्मे देखिने हिम टाकुराहरु कालापत्थरमा परिणत हुँदै जाँदैछन् । जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा ध्यान नदिएमा आगामी दिन विश्वमा नै पानीको संकट गहिरिने निश्चित छ । त्यसैले पनि राष्ट्रसङ्घले यस वर्षको विश्व पानी दिवसको नारा पानीको क्षेत्रमा परिवर्तनको गति बढाउनुपर्ने तय गरेको छ । पानी खाद्यान्नसँग सिधै सम्बन्धित छ । पानीबिना कृषि सम्भव छैन, खाद्यान्नबिना मानव जीवन सम्भव छैन । जलवायु परिवर्तनले जैविक विविधतामा पनि त्यत्तिकै असर पु¥याएको छ । एकातिर पानी अभाव अर्कोतिर भएका नदीनाला र पानीका स्रोत दुषित र प्रदूषित छन् । पहाडमा मात्र होइन तराईको चुरे क्षेत्र दोहनका कारण तराईमा पनि जलवायु परिवर्तनको जोखिम बढेर गएको छ । ०७२ को भूकम्पपछि थप पानीका स्रोत प्रभावित भएका छन् ।

काठमाडौं उपत्यकाभित्रका नदीनाला स्वच्छ सफा र व्यवस्थित बनाउन सरकारले सकेको छैन । वाग्मती, विष्णुमति, मनोहरा, धोवीखोला, टुकुवा, हनुमन्ते, गोदावरीजस्ता नदीहरुलाई स्वच्छ बनाउने अभियानले सार्थकता पाएको छैन । खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि यी नदीनाला दिसामुक्त हुन सकेका छैनन् । प्लास्टिक फोहोरको डुंगुरले नदीहरुको वहावलाई नै प्रभावित बनाइरहेको छ । यी नदीहरु भूमाफियाहरुको चंगुलमा परेर विस्तारै साँघुरिएका छन् र नदीमाथि बस्ती बसिरहेका छन् अनि वर्षायाममा नदी बस्तीहरुमा पसिरहेका छन् । सबै नागरिकमा स्वच्छ पानी पु¥याउने सरकारी दायित्व भए पनि सरकारी स्तरमा सञ्चालित खानेपानी योजना पनि २४ प्रतिशत जति मात्रै आंशिक सञ्चालनमा रहेको अवस्था छ । जलवायु परिवर्तनले अतिवृष्टि अनावृष्टि बाढीपहिरो जस्ता समस्या देखिएका छन् । वातावरणमैत्री विकास निर्माणमा राज्यको चासो छैन । सहर विस्तार र सडक विस्तारका क्रममा वातावरणलाई केन्द्रमा राख्ने गरिएको छैन । 

सहरी विकास मन्त्रालयको तथ्यांकअनुसार एक लाख ८० हजार निजी र एक हजार एक सय ९६ वटा सार्वजनिक धाराबाट करिब २६ लाख उपभोक्ताले मात्र पिउनेपानी उपभोग गरिरहेका छन् । उपत्यकामा पिउनेपानीको माग दैनिक ४० करोड लिटरभन्दा माथि छ । मेलम्ची समेत गरी आपूर्ति भने हिउँद याममा ३० करोड लिटर मात्रै हुनेछ । मेलम्चीअन्तर्गत दोस्रो चरणमा यांग्री र तेस्रो चरण लार्केबाट दैनिक १७/१७ करोड लिटर पानी आएपछि मात्र उपत्यकामा पिउनेपानी समस्याको समाधान हुने सम्बन्धित क्षेत्रको दाबी छ । पिउनेपानीको समुचित वितरण अभाव, बढ्दो जनसंख्या र तीव्र सहरीकरणका कारण पानी आपूर्तिमा ठूलै समस्या देखिएको छ । ढुंगेधाराहरु सुक्दै गएका छन् भने भूमिगत पानीको सतह समेत घटेर कुवा, इनार र ट्युबबेल स्रोत हराउँदै गएको छ ।

एक सरकारी तथ्यांकअनुसार जमिनमुनिको पानी ६८ मिटर तल झरेको छ । काठमाडौंमा प्रत्येक वर्ष वर्षायाममा तीन खर्ब ५० अर्ब लिटर पानी वाग्मती नदीबाट मात्र बगेर खेर गइरहेको तथ्यांक छ । त्यसबाट २५ प्रतिशत मात्र बचत गर्न सकिए काठमाडौंको हालको मागअनुसार २२ करोड लिटरका दरले एक वर्ष बढी समयका लागि पुग्न सक्ने अनुमान सम्बन्धित क्षेत्रका विज्ञहरुको छ । दैनिक २२ करोड लिटरका हिसाबले एकजनाको भागमा ८८ लिटर पानी पर्न आउँछ । वर्षाको पानीलाई विभिन्न उपायबाट संकलन गरेको खण्डमा राजधानीबासीको दैनिक माग सहजै पूरा हुन्छ । यसका लागि सम्बन्धित निकायले बेलैमा विचार पु¥याउन जरुरी छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज