मैले देखेको एघारौं विश्व आश्चर्यः इजिप्टको स्वेज नहर

विश्व आश्चर्यसँगको मेरो साक्षात्कार हुने क्रममा इजिप्टको पिरामिड पछि स्वेज नहर रहेको थियो । हाम्रो टुर प्याकेजमा स्वेज नहर रहेनछ । तब हामीले हाम्रो महिला गाइडलाई स्वेज कानाल हेर्न जाने ब्यवस्था मिलाउन आग्रह गरेपछि ५० अमेरिकी डलर प्रतिव्यक्ति तिर्नुपर्ने उनले बताइन् अनि सो अनुरूप इजिप्ट भ्रमणको अन्तिम दिन हामी कायरोबाट मिनिबस चढी लाग्यौं स्वेज कानालतर्फ
स्वेज कानाल (नहर)

स्वेज कानाल रेड सि र भूमध्यसागरलाई जोड्ने मानव निर्मित संसारकै सबैभन्दा ठूलोमध्ये एक अन्तर्राष्ट्रिय व्यावसायिक यातायातका लागि बनाइएको कृत्रिम नहर हो । स्वेज कानाल कम्पनीले यसको निर्माण सन् १८५९ देखि १८६९ को बीचमा गरेको थियो । निर्माण कार्यमा दशौं हजार मजदुरहरुले दैनिक रुपमा आफ्नो श्रम र ज्यानको बाजी लगाएका रहेछन् । औपचारिक रुपमा स्वेज कानाल नोभेम्बर १७, १८६९ मा अन्तर्राष्ट्रिय जल यातायातका लागि खुला गरिएको थियो । ब्यापक रुपमा भन्नुपर्दा यस कानालले अटलान्टिक महासागरलाई हिन्द महासागरसँग जोड्ने कार्य गरेको छ । जसको कारण अमेरिकी र युरोपेली महादेशबाट भूमध्यसागर र रेड सि हुँदै एसिया आइपुग्दा ७००० किलोमिटर   (४३०० माइल)  वचत हुन पुगेको छ । स्वेज कानाल एसिया र अफ्रिका दुवैतर्फ गरी इजिप्टको बीचमा छ र कानाल भूमध्यसागरमा रहेको इजिप्टको स्वेज कानाल सहरको पोर्ट साइदबाट सुरु भई पोर्ट टेब्फिकमा पुगी रेड सिमा मिसिँदा यसको दूरी १९३ किलो मिटर पुग्दो रहेछ । यस कानालबाट प्रतिदिन न्यूनतम ४७ ठूलाठूला अन्तर्राष्ट्रिय पानीजहाज आवतजावत गर्ने गर्छन् ।

सामरिक र व्यापारिक दुबै दृष्टिकोणबाट संसारकै सबैभन्दा महत्वपूर्ण जलक्षेत्र भएको कारण यसलाई आफ्नो बनाउने होडबाजीकै कारण सन् १९५६ मा इजरायल, बेलायत र फ्रान्सले संयुक्त रुपमा इजिप्टमाथि आक्रमण गरेका रहेछन् । इजिप्टले आफ्नो स्वतन्त्रता सन् १९२२ मा नै प्राप्त गरे तापनि बेलायती सैनिकहरूले स्वेज कानाललाई आफ्नै नियन्त्रणमा नै राखेका थिए । तर जब १९५६ मा  इजिप्टका राष्ट्रपति नासेरले स्वेज कानाल राष्ट्रियकरण गरे स्वेज कानाल युद्धको केन्द्रबिन्दु बन्यो । तर अमेरिका, सोभियत संघ अनि संयुक्त राष्ट्रसंघको हस्तक्षेपको कारण स्वेज कानालमाथि इजिप्टकै आधिपत्य रहन गयो । यो विजयलाई स्मरण गर्न कानालको पूर्वपट्टि एसिया सिनाई क्षेत्रतर्फ एक युद्धस्मारकबगैंचा बनाइएको रहेछ । हामीले पुरानो र नयाँ कानाल पार गर्ने दुबै क्षेत्र अवलोकन ग¥यौं र युद्धस्मारक पुगी इजिप्टको विजय गाथा थाहा पायाँै । निर्माणकालदेखि हालसम्म यस कानालको व्यवस्थापन स्वेज कानाल प्राधिकरणले गरेको रहेछ भने पुरानो फेर्री  (कानाल तर्ने जलस्थल) मा फोटो खिच्न पाइँदो रहेनछ ।  कानाल २४ मिटर गहिरो र २०५ मिटर चौडा रहेको थाहा पाइयो । स्वेज कानालको बारेमा लेख्दा भुल्नु नहुने आठ कुराहरु निम्नानुसारका रहेका छन् ।
१) इजिप्टका राजा (फराव) सेनुस्रेट तृतीयले इसापूर्व १८४० तिर नै रेड सीलाई नाइल नदीसँग जोड्ने नहर निर्माण गर्न लगाएका रहेछन् । विभिन्न कठिनाइ र झमेलाको कारण इसापूर्व ३ याने १५ वर्षभन्दा बढी समय लागेपछि यो नहरको निर्माण तोलेमिक वंशको शासनकालमा सम्पन्न भएको रहेछ । रेडसीबाट यो नहर हुँदै नाइल नदी पार गरी मरुभूमिको पैदल वा ऊट यात्रा गरी  मानिसहरु भूमध्य सागर आउने गर्दा रहेछन् ।
२) जब विश्व विजय गर्ने सपना बोकेका फ्रेन्च सम्राट नेपोलियन बोनापार्ट सन् १७९८ मा इजिप्ट विजय गरे उनले नहर बनाउनकै लागि भनेर एक सर्भेएर नियुक्त गरी सम्भाव्यता अध्ययन गर्न लगाए । रेड सीको सतह भूमध्य सागरको सतहभन्दा ३० फिट अग्लो रहेको कारण विचार नपुराइ नहर बनाउँदा नाइल उपत्यका नै डुबानमा पर्ने खतरा हुन्थ्यो भनेको कारण नेपोलियनले यो योजना परित्याग गरे । तर सन् १८४७ मा भएको अर्को सर्भेले दुई समुद्र सतहबीचको उचाई ३० फिट नभई बराबरी नै भएको तथ्य सार्वजनिक भएपछि स्वेज कानाल बनाउने योजना सार्थक हुने देखियो ।
३) सम्भाव्य देखिएपछि नहर बनाउने योजना सन् १८५४ बाट सुरु भयो । एक फ्रेन्च पूर्व कुटनीतिज्ञ तथा नेपोलियन तृतीयका प्रतिनिधि  फर्डिनाण्ड लेसेप्सले इजिप्सियन भाइसरायसँग स्वेज कानाल कम्पनी खडा गर्ने सम्झौतामा हस्ताक्षर गरे । विश्व जलमार्गको रुट नै परिवर्तन गर्ने देखी बेलायत सरकारले योजनाको ठूलो विरोध ग¥यो । यस विषयमा लेसेप्सको तत्कालिन बेलायती प्रधानमन्त्री पार्मस्टनसँग त भनाभनी नै प¥यो । तर पछि स्वेज कम्पनीको ४० प्रतिशत शेयर आफूहरुले पनि पाउने भएपछि बेलायतीहरुले विरोध गर्न छाडे ।
४) स्वेज कानाल निर्माण गर्न त्यतिखेर ठूलो संख्यामा कामदार र ज्यामीहरुको आवश्यकता पर्दथ्यो । यसका लागि इजिप्ट सरकारले वधुवा मजदुरहरुलाई सस्तो ज्यालामा दबाब दिएर काम लगाउने निर्णय ग¥यो । यसप्रकार सन् १८६१ को शुरुमै एकै पटक १० हजार ज्यामीहरुले नहर खन्ने कामको थालनी गरे । सन् १८६३ मा इजिप्टका शासक इस्माइल पासाले एक कानुन पास गरी बँधुवा मजदुर राख्न र दबाब दिएर काममा लगाउन नपाइने व्यवस्था गरेपछि नहर निर्माणले गति लिन सकेन । तर जब पेट्रोलले चल्ने एक्साभेटर प्रयोग गरी नहर खन्न थालेपछि भने पछिल्लो दुई वर्षमा नै ठूलो कार्य प्रगति हासिल भयो । यस क्रममा ७ करोड ५० लाख क्यूविक मिटर बालुवा खनेर निकाल्ने कार्य सम्पन्न भयो ।
५) स्वेज कानालको निर्माणको स्मरण गर्न भनेर नै एसियाको दीप भन्ने नाम दिएर एक अग्लो मूर्तिको पनि निर्माण गर्न लगाइएको थियो । तर त्यही मूर्ति त्यहाँ नठड्याइ पछि अमेरिकाको न्यूयोर्कमा लगेर ठड्याइयो जस्लाई अहिले पनि मानिसहरु स्वतन्त्रताको मूर्ति (स्टाचु अफ लिवर्टी) भन्छन् जुन विश्व आश्चर्यमध्ये एक मानिन्छ । स्वेज कानालको निर्माण यसप्रकारले सन् १८६९ को नोभेम्बरमा गई सम्पन्न भयो ।
६) स्वेज कानालको निर्माणबाट उत्साहित भएका लेसेप्सले अब पनामा कानाल बनाउन दौडधुप गर्न थाले । सन् १८८१ म पानामा कानालको निर्माण सुरु भयो । तर जति सजिलो होला भनेर लेसेप्सले सोचेका थिए त्यति भएन । हजारांै ज्यामीहरु महामारीको कारण मृत्युवरण गर्न बाध्य भए । महामारीको कारक तत्व भन्दै २६ करोड डलर खर्च गरी जंगल डढाएर खरानी बनाइयो । पछि लेसेप्स आफैं भ्रष्टाचारमा तानिएपश्चात् पनामा कानालको निर्माण २५ वर्ष पछाडि धकेलियो ।
७) सन् १९६७ को इजिप्ट इजरायल युद्धताका इजिप्ट सरकारले स्वेज कानाल बन्द गरेको थियो ।  बन्द गर्ने बेला १५ अन्तर्राष्ट्रिय पानीजहाज  कानालमा तैरिरहेका थिए ।  यी जहाजहरु त्यहाँ ८ वर्षसम्म अड्किए जसलाई यलो प्mिलट भनिन्थ्यो । जहाजमा काम गर्ने कर्मचारीहरु ३।३ महिनामा फेरिन्थे । पछि यी जहाजहरुभित्रै ब्यापार ब्यवसाय हुन थाले, यिनीहरुले आफ्नै छाप र आन्तरिक व्यवसाय प्रणाली विकास गरे । ती जहाजमध्ये १५ जहाजलाई सन् १९७५ मा आआप्mना देश फर्कने अनुमति दिइयो भने दुई जहाजहरु अहिले पनि जहाजभित्रै स्वतन्त्र व्यापार व्यवसाय गरी बसिराखेका छन् ।
८) पछिल्ला दिनहरुमा स्वेज कानाल भएर आउने जाने पानी जहाजहरुको संख्यामा ठूलो वृद्धि भएको छ । यहाँबाट हरेक दिन न्यूनतम ४७ ठूलाठूला पानीजहाज आवतजावत गर्दछन् । जसबाट इजिप्ट सरकारले वार्षिक ५ अरब डलर आय गर्ने गथ्र्यौ । जहाज ट्राफिक बढ्दै गई कानाल साँघुरो हुन पुगेको महसुस गरी अगष्ट २०१४ मा नहरलाई झन् गहिरो बनाउने र २२ माइल लम्वाइको अर्को शाखा नहर बनाउने आठ अरब पचास करोड डलरको योजना कार्यान्वयन भएपछि यहाँबाट आवागमन गर्ने पानीजहाजको संख्या प्रतिदिन ९७ पुगेको छ र यहाँबाट प्राप्त हुने वार्षिक राजश्व सन् २०२३ मा पुग्दा १० अरब डलर पुग्ने अनुमान गरिएको छ ।  

 

(यो लेख ढकालको प्रकाशोन्मुख कृति विश्व आश्चार्य, विश्व सम्पदा र विश्व महत्वपूर्ण स्थल र म बाट साभार गरिएको हो ।)-सम्पादक 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज