प्राचीन, मध्यकालीन र आधुनिक विश्व आश्चर्यसँगको मेरो साक्षात्कारपछि अब म विश्व सम्पादकसँगको मेरो साक्षात्कारबारे क्रमशः लेख्दै जाने क्रम सुरु गरेको छु । त्यसमा सबैभन्दा पहिले मैले देखेको विश्व सम्पदा भनेको काठमाडौं गौशालामा रहेको पशुपतिनाथ मन्दिर नै हो । विश्वका एक अरबभन्दा बढी हिन्दुहरूको धार्मिक केन्द्र रहेको गौशालास्थित पशुपतिनाथ मन्दिरको दक्षिणतर्फ अवस्थित बत्तीसपुतलीमा मेरो जन्म २०१४ कात्तिकमा भएको मेरो टिपनले बताउँछ । म जन्मेको केही दिनपश्चात् नै हामी बत्तीसपुतली छाडी बानेश्वरमा घर किनी बस्न आएका हौं । तसर्थ म सचेत भएपछिको मैले देखेको पहिलो विश्व सम्पदा भनेको पशुपतिनाथ नै हो । मैले ५ वर्षको उमेरमा याने २०१९ सालतिर पशुपति मन्दिर जान सुरु गरेको हुनुपर्दछ ।
दशैँको नौरथामा नौ दिन, शिवरात्रिमा दुई तीन दिन, अनि पछि युवक भएपछि हरेक शनिबार, अनि बिहान दौडने क्रममा पनि म पशुपति गुहेश्वरी मन्दिर जाने गरेको मलाई याद छ । पछि २०४१ सालमा विदेश गई २०४७ सालमा फर्केपछि भने मेरा विदेशी साथीहरूलाई घुमाउन म प्रायः पशुपति जाने गर्दथे । मेरो विवाह जर्मन मूलकी विदेशी महिला मोनिका होफमानसँग भएको हुँदा हाम्रै कारण पनि धेरै जर्मन अनि इटालियनहरू नेपाल आउँथे अनि म तिनीहरूलाई घुमाउन लैजान्थे । अनि पहिलो गन्तव्य चाहिँ घर नजिक भएको हुँदा सधैँ पशुपतिनाथ मन्दिर नै पर्दथ्यो ।
पशुपतिनाथ मन्दिर
पशुपतिनाथको उत्पत्ति ईसा पूर्व ४०० तिर भएको मानिएको छ । नेपालको राजधानी काठमाडौंको ५ किलोमिटर उत्तरपूर्व वाग्मतीको किनारमा अवस्थित यो हिन्दु मन्दिर विश्व प्रख्यात छ । अनि हरेक हिन्दुले आफ्नो जीवनकालमा एक पटक आउनैपर्ने धार्मिक गन्तव्य मानिन्छ । सन् १९७९ देखि यो युनेस्कोको विश्व सम्पदा सूचीमा पनि परेको छ । भगवान शिवको जन्मदिन शिवरात्रिको अवसरमा विश्वभरिका आठ लाख भक्तजनहरू पशुपतिनाथको दर्शन गर्न आउने गर्छन् । भारतमा भएका १२ वटा ज्योतिर्लिङ्गलाई शरीर र नेपालमा रहेको पशुपति ज्योतिर्लिङ्गलाई शिर मानिने हुँदा पनि यस मन्दिरको विश्वव्यापी महत्व छ । पशुपतिको उत्पत्ति इसा पूर्व ४०० तिर भए तापनि हालको पशुपतिनाथको मन्दिर भने पाँचौं शताब्दीतिरै लिच्छवी राजा सुपुष्पले बनाउन लगाएको कुरा गोपाल वंशावलीमा उल्लेख छ । पछि समय समयमा यस मन्दिरको वरिपरि वैष्णव मन्दिर, राम मन्दिर र एघारौं शताब्दीतिरै गएर गुहेश्वरीको मन्दिर बनेको बताइन्छ ।
भनिन्छ कि एउटा कामधेनु गाई सँधै पशुपति लिङ भएको ठाउँमा आइपुग्नासाथ त्यस गाईको थुनबाट दूध झरेको देखी त्यस ठाउँमा के छ होला भनेर खोस्रेर हेर्दा पशुपतिको हालको लिङ फेलापरेको कुरा किंवदन्तीमा उल्लेख छ । सुपुष्पले निर्माण गरेको पशुपतिको मन्दिर पाँच तले थियो तर पछि एघारौं शताब्दीमा लिच्छवी राजा शिवदेवले यसको पुनर्निर्माण गरिएपश्चात् यसको रूप फेरिएको बताइन्छ । स्वस्थानी व्रतकथामा आफ्नी हराएकी पत्नी पार्वतीलाई खोज्न आउने क्रममा शिव यस क्षेत्रमा आएका र यस स्थान उनलाई निकै मनपरेको कारण उनी स्थायी रुपमा यही रहेका हुन् भन्ने जनविश्वाश रहेको छ । पशुपतिनाथ क्षेत्र २६४ हेक्टरमा फैलिएको छ भने त्यस क्षेत्रमा मुख्य मन्दिरबाहेक अरु ससाना ५१८ वटा मन्दिर र देवल रहेका छन् । जसमध्ये वाशुकी मन्दिर, उन्मत्त भैरव मन्दिर, सूर्यनारायण मन्दिर, कीर्तिमुख भैरव, बूढानीलकण्ठ र हनुमानको मूर्ति रहेको छ । मुख्य मन्दिरको बाहिरी क्षेत्रमा राम मन्दिर, विश्वरुप मन्दिर १२ ज्योर्तिलिङ, १५ शिवालय र गुहेस्वरीको मन्दिर रहेको छ ।
पशुपतिनाथको मुख्य मन्दिर पेगोडा शैलीमा बनेको छ । भm्याल र टुँडालहरु काष्ठकलाले सजिएको छ । दुई तले तामाको छानामा सुनको जलप लेपन गरिएको छ र यस मन्दिरको उचाई करिब २४ मिटर रहेको छ । चारतिरका ढोकाहरु चाँदीले बनाइएका छन् र मन्दिरको गजुर सुनले बनेको छ । चारै ढोकाको भित्रको बीच भागमा पाँचमुख भएको मुख्य शिवलिंग रहेको छ । जसलाई चाँदीको नागले घेरेको छ । यही शिवलिंगलाई मूल पुरोहितले नियमति रुपमा दूध र जलले नुहाइदिने कार्य गर्दछन् । पशुपतिनाथको विशेषता भनेको पशुपतिको मुख्य लिंगलाई पुरोहितबाहेक अन्यले छुन पाउँदैनन् । नियमित पूजा भण्डारी र भट्ट गरी दुई पुरोहितबाट गरिन्छ । मुख्य पूजा भट्टले गर्छन् भने त्यस कार्यमा सघाउने भण्डारी हुन्छन् । २०६७।६८ सालतिर आएर भारतीय मूलका भट्टलाई राख्ने कि नराख्ने भन्ने विवाद परेको थियो । यो विवाद सर्वोच्च अदालतसम्म पुग्यो र भट्टहरु नै मूल पुरोहित कायम भए ।
पश्चिम ढोकालाई मन्दिरको मुख्य द्वार मानिन्छ । हिन्दु र बौद्धमार्गीहरुलाई मात्रै मन्दिरमा प्रवेश दिइन्छ । अरु धर्म मान्नेहरु पश्चिम ढोकासम्म गई भित्र अवलोकन गर्न सक्छन् भने पश्चिमतर्फको उँचो भागबाट पशुपतिको अवलोकन गर्न सक्छन् । मन्दिर प्रवेश बिहान चारदेखि बेलुका सात बजेसम्म खुला रहन्छ । २०७२ सालको महाभूकम्पले पशुपति क्षेत्रलाई त्यति ठूलो क्षति पु¥याएन । केही शिवालयहरु भने भत्किए । पशुपतिको दोस्रो तलामा विशाल ढुकुटी रहेको मानिन्छ । देशमा महामारी र विपत्ति आएको बेलामा मात्र त्यो ढिकुटी खोल्न सकिने भए तापनि कहिले र कस्ले सो ढुकुटी खोले भन्ने यथार्थ स्पष्ट छैन । मध्यकालीन राजाहरुले विपत्ति परेको बखत पशुपतिनाथको ढिकुटीबाट धन निकाली विपत्तिको सामना गरेको कुरा इतिहासको पानामा पढ्न पाइन्छ । धार्मिक रुपबाट पशुपतिको जति महत्व छ त्यति नै महत्व काष्ठकला, प्रस्तर कला, धातुकलाको एक अनौठो उदाहरणस्वरुप यो मन्दिर रहेको कारण नै यो विश्वसम्पदा सूचीमा पर्न गएको हो ।
(यो लेख ढकालको प्रकाशोन्मुख कृति विश्व आश्चार्य, विश्व सम्पदा र विश्व महत्वपूर्ण स्थल र म बाट साभार गरिएको हो ।)-सम्पादक