मैले त चुनाव हारेर जितेको पो रहेछु

प्रदेश खारेजी र आधारभूत संघीयताको स्थापना र विकास गर्ने, आफू सांसद भएमा त्यसबापत राष्ट्रबाट कुनै भत्ता सुविधा नलिने, वर्तमान र भूतपूर्व राजनीतिकर्मीहरूको सेवा सुविधा खारेजी गर्ने, नेपाललाई हिन्दु र बौद्ध धर्मको अन्तर्राष्ट्रिय केन्द्र बनाउने, २०४७ पछिका राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरूको स्रोत नखुलेको सम्पत्तिको राष्ट्रियकरण गर्ने, ७७ जिल्ला ७७ निर्वाचन क्षेत्र बनाउने, राजनीतिकर्मीहरूले विदेशमा गई औषधोपचार गरी गर्ने गरेको राष्ट्रिय ढुकुटीको दोहन बन्द गर्ने, राजनीतिलाई पेसा होइन, सेवाको रुपमा स्थापित गर्ने, पर्यावरण मैत्री विकास मात्र प्रवर्द्धन गर्ने, देशबाट लिने होइन, देशलाई दिन सक्नेले मात्र राजनीति गर्ने संस्कारको विकास गर्ने, भारतीय हेपाहा प्रवृत्तिको विरुद्ध लड्ने, अनि नेपालबाट तिब्बतीहरूलाई कि तिब्बत, कि भारत कि भुटानी शरणार्थीहरूलाई जस्तै क्यानडा र अमेरिका पठाउने जस्ता एजेण्डा लिएर काठमाडौं चुनाव क्षेत्र नं १ बाट मैले उम्मेदवारी दिएको थिएँ ।

चुनावमा मैले कति मत पाएँ भन्ने कुराले सामाजिक सञ्जाल भरिएकै थियो । आफ्नो सम्पूर्ण सम्पत्तिको अक्षयकोष बनाई त्यसको ब्याजबाट सामाजिक सेवामार्फत राजनीति गर्न मैदानमा उभिएको मान्छेले चुनाव हार्दा त्यसले उसको मानसिक स्थितिमा नराम्रै असर पार्छ होला भन्ने यस क्षेत्रका मतदाताहरूको सोचेका थिए होलान् । तर दिनको लागि जन्मेको मान्छेलाई त्यसले केही असर पार्दैन भन्ने कुराको उदाहरण बनेर मैले देखाएकै कारणले होला चुनावमा मलाई पछार्नेहरु अहिले आफै पछारिएको अनुभव गर्न थालेका छन् ।

गत चार हप्ताको अवधिमा काठमाडौंको चुनाव क्षेत्र नं १ मा रहेका एक विद्यालय, एक गैरसरकारी संस्था, एक सामाजिक संस्थाले अतिथि बनाइ मलाई सम्मान गर्ने कार्यक्रम राखे जसमा प्रमुख अतिथि त्यही व्यक्ति थिए जससँग म चुनावमा हारेको थिएँ । तीनमध्ये दुई ठाउँमा ती व्यक्ति आफैं उपस्थित भए तर मसँग आँखा जुधाएर हेर्ने र बोल्ने आँटसम्म गरेनन् अनि एउटा कार्यक्रममा त उनी आउँदै नआई आफ्ना प्रतिनिधिलाई खटाए । चुनावताका तँलाई हाम्रो पूर्ण समर्थन रहन्छ भनेर मेरो प्रतिष्ठानमार्फत सहयोग लिने त विचरा मलाई देख्नेबित्तिकै लाजले शिर निहुराउँछन् ।

मैले पाएको मत आफ्नो एक मतसमेत गरी जम्मा ९२ थियो तर टेलिफोन, मेसेन्जर, एसएमएस, अनि फेसबुकमार्फत हामीले त तँलाई भोट दिएकै हो भन्नेहरु हजारभन्दा बढी हुन पुगे । अब भन्नुहोस् चुनाव वास्तविक रुपमा कसले जितेको रहेछ ? मैले कि मलाई हराउने प्रतिद्वन्द्वीले ? म बानेश्वरमा जब पैदल वा साइकल चढेर निस्कन्छु मलाई अभिवादन गर्ने मित्रहरु थुप्रै देखिन्छन् । त्यसले मलाई यति गौरवान्वित बनाउँछ कि चुनाव हारेकोमा एक रत्ति अफसोच छैन बरु खास चुनाव त मैले पो जितेको रहेछु भन्न पोे परिरहेछ मलाई  ।

सरकार आफ्ना कर्मचारीहरुलाई तलब दिन नसक्ने भइसक्दा पनि वर्तमान अनि भूतपूर्व राजनीतिकर्मीहरु आफ्नो सेवा सुविधा त्याग्न सक्तैनन् भने चुनाव जितेर देशको लागि भार बनेका ती मनुवाहरु ठिक कि म ठिक ? त्यो समयले बताइ नै रहेको छ । चुनाव जित्नेहरु आत्मघातीको निशान हुने वा उनीहरुले आत्महत्या गर्नुपर्ने दिन देख्न अब धेरै कुर्नु नपर्ला । मैले त चुनाव हारेर जितेको पो रहेछु ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज