रविले चुनाव जितेर मन्त्री बन्नेबित्तिकै मैले भविष्यवाणी गरेको थिएँ त्यो पद उसका लागि मूतको न्यानो हुनेछ भनेर । नभन्दै त्यस्तै भयो । खोला तरेपछि लौरो बिर्सनेको हविगत जस्तो हुनुपर्थ्यो त्यस्तै भयो । मैले निकै राष्ट्रवादी पत्रकार भनेर उसलाई मेरो सम्पादन र प्रकाशनमा निस्कने ग्रेटर नेपाल साप्ताहिकको दोस्रो वार्षिकोत्सवमा दोसल्ला ओढाएर सम्मान गरेको थिएँ तर उसले गुनको बदला राम्रैसँग लियो । मेरो विपक्षमा पुकार बम भन्ने केटोलाई उठाएर । त्यसो गर्दा आफू बेइमान भएको उसले हेक्का राखेन । त्यसैले फल पनि छिट्टै मिल्यो अदालतले दोषी ठहर्याउँदै उसको उपप्रधान तथा गृहमन्त्री खोसिदियो । उसकै बेइमानको कारण करोडौं रुपैयाँ राष्ट्रको ढुकुटी बाट खर्च गरेर चितवनमा पुनः चुनाव गर्नुपर्ने अवस्था आयो । निर्वाचन आयोग र अदालतले राष्ट्रिय ढुकुटीको दोहन गर्दै फेरि बिजिनेस पाउने लक्षण देखियो । किनभने विदेशी नागरिकता वा विदेशको स्थायी अनुमति त्यागेको ३ महिना भुक्तानी नहोउन्जेल निर्वाचनमा उम्मेदवार बन्न पाइँदैन भनेर नेपालको संविधानमा स्पष्ट व्यवस्था भएको छ ।
के रविले अमेरिकी नागरिकता त्यागेको ३ महिना व्यतीत भइसक्यो त ? अर्को कुरा मन्त्री बन्नका लागि दुर्गा प्रसाईँसँग रविकै पार्टीका अर्का सांसद ढाका श्रेष्ठले २ करोडको घूस मागेको अडियो सार्वजनिक हुनुले रविको छवि पुनः धमिलिन गएको छ । श्रेष्ठलाई मात्रै कारवाही गरेर रविलाई चोख्याउन अवश्य नै सकिदैन होला । किनकी एउटा उदाउँदो पार्टीको अति नै लोकप्रिय भनिएको केन्द्रीय नेतालाई पत्तो नदिई एक्लैले त्यति ठूलो रकम ढाकाले घूस मागे होलान् भनेर सजिलै विश्वास गर्न सकिदैन । फेरि संसदीय चुनाव न हो त्यहाँ जसरी भए पनि पैसाको जोहो नगरीकन चुनाव जितेला भनेर कसैले नसोचे हुन्छ ।
लाखौंको सङ्ख्यामा झोले कार्यकर्ता भएका दलहरूलाई त चुनावका लागि करोडौं खर्च गर्नुपर्ने बाध्यता छ भने रविका कार्यकर्ताहरूले भोकभोकै खटिएर नानीमैयाको मोडेलमा आफ्नो दललाई चुनाव जिताएको त अवश्यै होइन होला ? होइन भने अब रविको दल पुराना दलहरूभन्दा कुन चाहिँ कुरामा फरक भयो त ? कमाएको सम्पत्ति जाँच गर्ने हो भने कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी बाहेक २०४६ पछिका झण्डै सबैजसो प्रधानमन्त्री र मन्त्रीहरुलाई भ्रष्टाचार र कमिसनको दोषी ठहराउन सकिन्छ । सो गर्छु भनेर रवि र उसको दल चुनावमा होमिएको हो कि होइन ? हो भने किन र कसरी बाहिरियो ढाकाको अडियो ? पार्टीले ढाकालाई डांका घोषित गरी पार्टी र सांसद पदबाट निकालिसक्यो भनेर भन्दैमा रवि चोखिएलान त अब ? उनको छवि राम्रै प्रष्टियन त ?