एउटा यस्तो रोमाञ्चक प्रेम कहानी

मेरी एने इभान्सको प्रेम कहानी सम्झन लायक छ । उनी इंग्ल्यान्डको युनिएटन नामक ग्रामीण बस्तीमा जन्मिएकी थिइन् । उनका बाबु पाउरोटी बेचेर परिवारको गर्जो टार्थे । मेरी राम्री भने थिइनन् । फुस्रो वर्ण, घोक्रिएको ठूलो नाक, टाँसिएको कपालले उनी कुरुप देखिन्थिन् । यद्यपि उनी सोझी थिइन् । उनका बालसखा हेनरी लिघ उनका बारेमा यसो भन्थे, मेरी अत्यन्त नराम्री विरुप थिइन्, उनको अनुहार घोडाको जस्तो थियो । मेरी र हेनरी साथी भएर पनि प्रेमबाट टाढा हुनुको कारण सायद मेरीको कुरुपपना नै थियो । उनको बिरुपबारे उनकै आफ्नै बहिनी एलिसिया समेत भन्थिन्, मेरीको रुप ढुसी परेको च्याउ जस्तै थियो ।

मेरीको स्वभाव पनि अरुभन्दा फरक थियो । कहिले उनी खेतमा बसेर विरक्तका गाना गाउँथिन् त कहिले भाइसँग झगडा गर्दै लाप्पा खेल्थिन् । हातमा पुतली लिन्थिन् र त्यो पुतलीको टाउकामा निर्दयी भएर किला ठोक्थिन् अनि फेरि त्यसैलाई छातीमा टाँसेर रुन्थिन् उनी । जब उनी किशोरी वयमा उक्लिन् उनले धार्मिक किताब पढ्न थालिन् । जर्मन संगीतको अध्ययन र कवि विलियम वर्डस्वर्थका कविता पढ्नतिर उनको रुचि बढ्यो । चर्च र धार्मिक सभामा पनि मेरीको उपस्थिति बढ्दै गयो । उनी धार्मिक कट्टरपन र रुढीवादको कडा आलोचकका रुपमा देखा परिन् । तार्किक क्षमताकी धनी थिइन् उनी । ठूला दार्शनिकहरुका तर्क र विचार प्रमाणका रुपमा पेश गर्थिन् उनी । पुरुषतर्फ उनको आकर्षण पटक्कै थिएन । सारा हेन्नेल लेखिका थिइन् । उमेरमा सारा मेरीभन्दा सात वर्ष जेठी थिइन् । सारासँग नजिकिइन् मेरी । मेरीलाई उनको मादकताले खिज्याउन थालिसकेको थियो । उन्मुक्त वैंसले उनमा कामुकता थप्दै थियो । यस्तैमा एकजना युवा डाक्टरबाट उनलाई विवाह प्रस्ताव आयो । यसबारे उनले सहेली सारासँग सल्लाह मागिन् । सारा जो ३१ वर्षकी थिइन् भने मेरी २१ वर्षकी । दुवैले विवाहका विषयमा पत्र आदानप्रदान गरे । यो सन् १८४३ को कुरा थियो । हैरान यस अर्थमा थियो कि सहेली सारालाई पत्र लेख्दा मेरीले माइ हस्बेन्ड भनेर सम्बोधन गर्थिन् । सारा पनि मेरीलाई माई वाइफ भनेरै पत्रमा लेख्थिन् । झन्डै सात वर्षसम्म उनीहरुबीच यस्तो सम्बन्ध रह्यो ।

मेरी लण्डन पुगिन् र पत्रकारिता सुरु गरिन् । सन् १८५० मा माक्र्सवादी पत्रिका (वामपन्थी) वेस्ट मिनिस्टर गजेटमा सहायक सम्पादिका बनिन् उनी । नाम चलेका लेखकहरु र तिनबाट सिर्जित रचनाको दमदार आलोचना गर्न थालिन् उनले । उनी छिट्टै चर्चामा आइन् । पत्रिकाका सम्पादक जोन च्यापम्यानसँग केही समय इलु इलु पनि चल्यो मेरीको । तर यो इलु इलुले स्थायी रुप ग्रहण गर्न सकेन । पछि उनको भेट प्रसिद्ध लेखक तथा विचारक हर्बट स्पेन्सरसँग भयो । हर्बटको स्वभाव विचित्रकै थियो । उनी हरेक महिलालाई गणितको हिसाब सोच्थे । मेरी र हर्बटको स्वभाव विल्कुलै फरक थियो र पनि दुवैजना एकल जीवन बिताउँदै आएकाले सामीप्यता बढ्न पुग्यो । एक्लो जीवनबाट दुवै दिकदार थिए । आपसी भेटघाट र चिनजान बेड पार्टनरमा परिणत भयो । दुवै एउटै ओछ्यानमा सँगै रात बिताउन थाले । तर यो सम्बन्ध पनि लामो समय टिकेन । फिजिकल रिलेसन भए पनि उनीहरुसँगै जीवन बिताउन नसक्ने महसुस गर्न थाले । हर्बटले एकदिन साँझको छायामा प्वाक्क भनिदिए, तिमी विचित्रकी छौ मेरी । तिमीसँग कुनै पनि पुरुषले सँगै जीवन बिताउन सक्दैन । हर्बटको भनाइले मेरीमा खासै प्रभाव पारेन । उनले कुनै प्रतिवाद गर्न पनि चाहिन्न । हर्बटलाई सजिलै आफ्नो जीवनबाट बाई बाई गरिन् उनले ।

यतिबेलासम्म मेरीको उमेर ३२ वर्ष पुगिसकेको थियो । उनी अर्को पुरुष साथीको खोजीमा लागिन् । हर्बटलाई छोडेपछि उनी अनुवादतिर लागिन् । फायरवादका पुस्तकहरु र लेखहरु अनुवाद गर्दै जीवन गुजारा चलाउन थालिन् । उनको भेट १८५१ म जर्ज हेनरी लेबेससँग भयो । जर्ज कहलिएका साहित्यकार, समालोचक, दर्शनशास्त्र सम्बन्धी किताब लेखक थिए । उनका किताबहरुले राम्रो बजार लिएको थियो । उमेरमा हेनरी मेरीभन्दा दुई वर्ष जेठा थिए । हेनरी पनि कुरुप नै थिए मेरी जस्तै । उनी विवाहित थिए, चार सन्तानका बाबु । पत्नी आग्नेस जेभिर्सले हेनरीसँग दोस्रो विवाह गरेकी थिइन् । आग्नेसको पहिलो पति थोर्टन लिघ हन्ट थिए । थोर्टनतिरबाट पनि आग्नेसले तीन सन्तान जन्माएकी थिइन् । जर्ज हेनरी लेबेसको पत्रिकाका साझेदार रेनार्डसँग पनि आग्नेसको विशेष सम्बन्ध थियो । रेनार्ड वैभवशाली व्यक्ति थिए । जर्जले पत्रिकामा मेहनतसाथ काम गर्न थाले । उता रेनार्ड जर्जको अनुपस्थितिमा जर्जकै घरमा गएर आग्नेससँग शारीरिक सम्बन्ध राख्न थाले ।

आग्नेस पनि रेनार्ड जस्तै धनी परिवारकी आइमाई थिइन् । फेरि रेनार्ड राम्रा पनि थिए । जर्ज जस्ता विरुप थिएनन् । सम्पत्ति र रुप दुवै थियो रेनार्डमा । एकदिनको घटनाले लेवेसलाई घायलै बनायो । जब उनी आफ्नो घर पुगे, आग्नेस थिइनन् । उनी त रेनार्डसँग भागिसकेकी थिइन् उनलाई छोडेर । यो घटनापछि उनको भेट मेरीसँग भएको थियो । लेवेस आईमाई भनेपछि निकै सशंकित हुन्थे । पहिलो भेटमै मेरीले लेवेसका रचनाको प्रशंसा गर्नुको सट्टा तिखो आलोचना गरिन् । यद्यपि पछि मेरीलाई लेवेसले सम्मानपूर्ण नजरले हेर्न थाले । मेरीले पनि व्यर्थैमा लेवेसका रचनाको आलोचना गरेकोमा पछुतो मानिन् । दुवैले एक अर्कालाई आदर गरे । यही आदर केही समयपछि प्रेममा परिणत भयो । मेरीले लेबेससँग विवाह गर्ने प्रस्ताव राखिन् । तर लेवेसले आग्नेसले धोका दिए पनि फेरि अर्को विवाह नगर्ने निर्णय सुनाए । साथै आर्थिक अवस्था पनि राम्रो नभएको जनाए । मेरीले विवाह नै नगरे पनि उनीसँग पत्नीको रुपमा रहेर जीवन बिताउने इच्छा प्रकट गरिन् र उनीहरु दुवै अविवाहित दम्पतीका रुपमा रहे । तर यो गोप्यता एकदिन उदांगियो । लेखक, बुद्धिजीवीहरुमाझ हल्ला फैलियो । कुरुप लेवेसले बूढी मेरीलाई भगाए । तर यो हल्लाको प्रभाव मेरी र लेवेसमा अलिकति पनि परेन । उनीहरु त हनिमुन मनाउन जर्मनी पो पुगे । फ्रयांकफर्ट, बर्लिन, वाइमर जस्ता सहरहरुमा उनीहरु रमाउन थाले । झन्डै एक महिना जर्मन घुमाइपछि उनीहरु इंग्ल्यान्ड फिर्ता भए ।

इंग्ल्यान्ड आएपछि दुवैले फ्ल्याट लिएर बस्न थाले । मेरी अब मरियन इभान्स लेबेस बनिसकेकी थिइन् । बूढाबूढीको यो प्रेमलाई भने कसैले पनि मनपराएनन् । मेरीलाई आफ्नै बुबा र भाइहरुले अपमानित गरे । लेवेस पनि साथी भाइबाट टाढा भए । परिवार र साथीभाइको अपमान र घृणालाई दुवैले वास्ता गरेनन् । दुवै आफ्नै दुनियाँमा रमाउन थाले । मेरीले यही बीचमा ‘एडम बिड’ नामक उपन्यास लेखिन् र १८५९ मा उपन्यास प्रकाशित भयो । उपन्यासको लेखकको नाम जर्ज इलियट राखिएको थियो । आफू विवाहबाट आलोचित भएकाले पाठकहरुले नरुचाउने अनि चर्को आलोचना खप्नुपर्ने आशंका गर्दै उनले पुरुष लेखकको नाम दिएकी थिइन् उपन्यासको । गजब नै भयो– ‘एडम बिड’ ले ब्रिटेनमा तहल्का नै मच्चाइदियो । पहिलो पटक उपन्यासकारका रुपमा देखिएका जर्ज इलियटको सर्वत्र चर्चा चल्न थाल्यो । नयाँ पिँढीका लेखकहरुका त उनी आदर्श नै भए । लामो समयपछि जर्ज इलियट न्युनिएटनका बासिन्दा हुन् भन्ने कुरा पाठकहरुले थाहा पाए । इलियटलाई हेर्न न्युनिएटनमा भीड जम्मा हुन थाल्यो । तर इलियट कहीँ फेला परेनन् । सबै निराश भएर फर्किए । मेरी उर्फ इलियटले न्युनिएटन छोडिसकेकी थिइन् ।

एडम बिड पुस्तक सर्वाधिक बिक्री भए पनि मेरीले कुनै रकम पाइनन् । बैंक बुड पत्रिकाका प्रकाशकले एक पैसा पनि मेरीलाई नदिई किताब छापेका थिए । चर्चित पुस्तक एडम बिड लेख्ने मेरी ऐनहरु मेरीलाई भेट्न र हेर्न उनको घर गए । मेरी कपड धुँदै थिइन् । मेरीको दयनीय अवस्थाले सबैलाई हतप्रभ बनायो । अब मेरीका बारेमा प्रायशः पत्रपत्रिकाले मुख्य समाचार बनाएर प्रकाशन गर्न थाले । जर्ज इलियट अर्थात् मेरी भोकले मर्दैछिन् । यो समाचार छापिएपछि मेरीतर्फ सहयोगका हातहरु अघि बढ्न थाले । उनलाई सहयोग गर्ने मान्छेहरुको ताँती लाग्न थाल्यो, उनको घरमा । तर मेरी एक्कासी घरबाट गायब भइन् । वास्तवमा उनी कसैको पनि सहयोग लिने पक्षमा थिइनन् । ‘एनी वे दिस इज लाइफ’ मै उनले चित्त बुझाएकी थिइन् । दुवैजनाले न्युनिएटन छोडे र कसैले थाहा नपाउने गरी टाढा गएर बस्न थाले । मेरीले लेबेससँग चौबीस वर्ष सँगै बिताइन् । लेबेसबाट यौनसन्तुष्टि पनि प्राप्त थियो उनलाई । उनी भन्ने गर्थिन्– मेरो दिमागमा नयाँ नयाँ विचार रातको रमाइलो पछि फुर्ने गरेको छ । तर मेरी कहिल्यै आमा बनिनन् । यौनसंसर्गका बेला प्राकृतिक गर्भनिरोधक उपाय दुवैले अपनाएको रहस्य उनले पछि खोलेकी थिइन् ।

इलियटकै नामबाट सन् १८६० मा मेरीको दोस्रो पुस्तक (उपन्यास) ‘द मिल अफ दि फोस’ प्रकाशित भयो । १८६१ मा ‘सिलास मार्नर’ र १८७१ म ‘ड्यायिल डेरोन्डा’ लगायत सातवटा उपन्यास उनका प्रकाशित भए । ‘दि स्पेनिस जिप्सी’ अगाथा, अ मिरर प्रोफेट, दि डेथ अफ मोजेज, लिजेन्ड अफ जुबाल लगायत तेह्रवटा कविता संग्रह पनि उनले लेखिन् । उनले विगतमा मेरीको नामबाट जु अपमान र घृणा पाएकी थिइन्, त्यो इलियटको नामबाट फिर्ता भइसकेको थियो । अब उनी हरेकको नजरमा आदरणीय बनेकी थिइन् । नाम र दाम दुवै कमाइन उनले । उनीसँग वैभवशाली बंगला भयो, सुसारे, नोकरहरु घरमा भए, गाडीदेखि सबै वस्तु उनीसँग भए । एक समृद्ध जीवन बिताउन थालिन् मेरीले । तर लेबेस भने सन्तुष्ट बनेनन् । उनी जर्ज इलियटको नाठोका रुपमा समाजमा चिनिन थाले । १८७८ को नोभेम्बर २८ को बिहान उनी आफ्नो कोठाबाट बाहिर आएनन् । मेरी ब्रेकफास्टका लागि लेबेसलाई पर्खिरहेकी थिइन् । लामो इन्तजारपछि पनि लेबेस कोठाबाट बाहिर नआएपछि आफैं कोठाभित्र गइन् । उनले लेवेसलाई उठाउन खोजिन् । तर लेवेसको प्राणान्त भइसकेको थियो । तर उनी विचलित भइनन् न त आँसु नै खसाइन् ।

उनले घरमै बसेर कथा, निबन्ध, कविता, उपन्यास थुपै विधामा दख्खल जमाइन् । अभूतपूर्व सम्पत्तिकी मालिकिन भइन उनी । पछि उनले एडिथ सिमकोकससँग समलिंगी सम्बन्ध राखिन् । जो उनकी साथी थिइन् । लेवेस मरेको दुई वर्षपछि बैंकर जोन वाल्टर क्रससँग कानुनी बिहे गरिन् । जोन मेरीभन्दा २० वर्ष कन्छा थिए । मेरीको यो कार्यलाई समाजले उचित ठानेन । उनको सबैतिर आलोचना हुन थाल्यो । उत्ताउली पातकी बूढी भनिन थाल्यो उनलाई । मेरीलाई यो सब कुराको पर्वाह थिएन । उनी चालीस वर्षे क्रसलाई लिएर हनिमुन मनाउन इटाली गइन् । बूढी मेरीलाई जवानीमा फर्काएका थिए क्रसले । क्रससँगको सेक्समा मेरी औधी खुसी थिइन् । इटालीमा मस्तले हनिमुन मनाएर दुवै इंग्ल्यान्ड फर्किए । केही दिनपछि नै अचानक मेरी बिरामी भइन् । केही पहिलेदेखि नै उनको किड्नीमा समस्या देखिएको थियो । अब उनका दुवै किड्नीले काम गर्न छोड्दै गए । उनको घाँटीमा पनि इन्फेक्सन देखियो । भिक्टोरिया समयका ब्रिटेनका चर्चित लेखक जर्ज इलियटको १८८० डिसेम्बर २२ मा मृत्यु भयो । यिनै जर्ज इलियट मेरी थिइन् ।
(रिडर डाइजेस्टको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज