मैले देखेको तेश्रो विश्व सम्पदाः नेपालको बौद्धनाथ

कुरा २०२४ साल तिरको हो । विजय मेमोरिएल स्कुलमा ७ कक्षाको वार्षिक परीक्षा दिएर मीन पचासको जाडोको छुट्टी थियौ हामी बालबालीका । त्यति खेर मेरो उमेर नौ वर्ष पुरा भएर १० वर्ष लागेको मात्र थियो । अहिलेको जस्तो जहाँबाट जहाँ जान पनि बसको ब्यवस्था थिएन । त्यतिखेर गौशाला रत्नपार्कको रुटमा मात्र वस चल्थ्यो । गौशालाबाट उत्तर जहाँ जान पनि हिँडेरै जान पर्ने हुँदा बानेश्वरबाट बौद्धनाथ सम्म जान पनि अवसरनै कुर्नु पर्दथ्यो । झन हामी बालबालीका एक्लै त्यति टाढा जाने कुरा पनि हुँदैनथ्यो ।

विजय मेमोरियल स्कुल डिल्लीबजारमा भएको कारण रत्नपार्क र रानीपोखरी सम्म मात्रै मैले देखेको थिए । बानेश्वरबाट शंखमूल हुँदै पाटन हिनेर जाने बाटो अनकन्टार थियो । हरिसिद्धीबाट सेतो जामा लगाएर हिड्ने गठेले बालबालीकालाई समातेर लैजान्छ भन्ने डर हामीलाई देखाइएको हुँदा एक्लै त्यो बाटो हिड्ने कुरा पनि थिएन । यसै बीच हामी उही उमेरका साथी भाइहरू सुन्दरीजलको सुन्दरीमाइको मन्दिरमा पिकनिक जाने तय भयो । पुरानो बानेश्वरबाट गौशाला सम्म वस चढ्ने कुरा पनि भएन । तसर्थ माघ महिनाको एक बिहानै हामी ७ जना बालबालीका  मध्य बानेश्वरबाट लाग्यौ सुन्दरीजल पिकनिक गर्न जान भनेर । हाम्रा आमाहरूले खानको लागि भनेर खानदानमा खानेकुरा बनाइदिनु भएको थियो । हरेकले एकएकवटा खानदान बोकेर हामी करिव ७ वजे तिर लाग्यौ सुन्दरीजल तर्फ । हामी पुरानो बानेश्वर हुँदै गौशाला, मित्रपार्क चाबहिल, चुच्चेपाटी हुँदै करिब एक घन्टामा बौद्धनाथ आइपुग्यौ । स्कूलबाट घर अनि घरबाट स्कुल आउने जाने मात्र गर्ने गरेका हामी पहिलो पटक एक घन्टा हिनेर बौद्धनाथ सम्म पुग्दा हामीले के के न गर्यौ जस्तो भान भएको थियो हामीलाई । हामी आधा घन्टा जति बौद्धनाथ परिसरमा रमायौ ।

मैलै बौद्धनाथ स्तूपा पहिलो पटक मेरो जीवनमा त्यही वेला देखेको थिए । पछि पछि फेरी गोकर्णमा मामाघरको कुलदेवता पूजाको अवसरमा जाने गरिन्थ्यो अनि त्यतिखेरै बौद्धनाथको स्तूपा एक पटक घुमिन्थ्यो । पछि २०४१ देखि ४६ सालसम्म इटाली जर्मनी अध्ययन गर्ने क्रममा युरोप गइयो । धेरै विदेशी साथीहरूसँग घनिष्टता बढ्यो । आफ्नै श्रीमती मोनिका पनि जर्मन नागरिक भएको हुँदा धेरै जर्मन साथीहरू नेपाल घुम्न आँउथे । उनीहरूलाई पशुपतिनाथ देखाए पछि देखाउने अर्को थलो भनेको बौद्धनाथ स्तूपा हुने हुँदा बौद्धनाथ परिसरमा भएका विकास र परिवर्तनहरू मैलै आफ्नै आखाले देख्न पाउथेँ ।

बौद्धनाथ स्तूपा 
नेवारीमा खस्ती चैत्य, तिब्बती भाषामा ज्यारुंग खासोर भनिने बौद्धनाथ स्तूपा काठमाण्डु शहरको केन्द्रबाट ११ किलोमिटर पूर्वोत्तर रहेको छ । मण्डला डिजाइनमा बनाइएको यस स्तूपा नेपाल र विश्वकै सबैभन्दा ठूलो स्तूपा हो । यस बौद्धनाथ परिसरमा सन १९५० तिर तिब्बतबाट आएका शरणार्थीहरू आइ बसी उनीहरूले ५० वटा भन्दा वढी गुम्बाहरू निर्माण गरेका छन् । सन १९७९ मा नै युनेस्कोले बौद्धनाथलाई विश्व सम्पदामा सूचीकृत गरेको थियो । विश्वका सबै वौध्दधर्म मार्गीहरुको गन्तब्य स्थल बनेको  छ  यो स्तूपा । यद्यपि काठमाण्डु आउने सामान्य पर्यटकहरु पनि यस स्तुपाको अवलोकन गर्न आउछन् ।  पुरानो तिब्बत नेपाल ब्यापारिक मार्गमा पर्ने भएको कारणले गर्दा पनि साखु, चावहिल र देवपत्तनको  विकास संगसंगै बौद्धनाथ क्षेत्रको पनि विकास हुन गयो । धेरै शताब्दी अगाडि देखि पैदलै काठमाण्डु आउने क्रममा तिब्बती भिक्षुहरु बौद्धनाथ आउथे, हिडाइको थकाइ मेटदै वुध्दको पुजाआजा गर्दथे । कश्यप बुध्दको अस्थि राखिएको चिहान भनेर यस स्तुपालाई भन्ने गरिन्छ । बुध्दको मृत्यु लगत्तै यस स्तूपा वनाइएको भनिन्छ । गोपाल वंशावली अनुसार यस स्तुपाको निर्माण लिच्छवी राजा शिवदेवको पालामा भएको थियो । कसैले होइन राजा मानदेवकै पालामा इश्वी सन ४६४ देखि ५०५ मानै यस स्तुपाको निर्माण भएको ठोकुवा गर्दछन ।

१५औ शताब्दीको अन्त्य तिर यहा एक शहर उत्खननबाट भेटिएको र लिच्छवी राजा अंशुवर्माको अस्थि भेटिएको उल्लेख छ । जस्ले सन ६०५ देखि ६२१ सम्म नेपालको शासन गरेका थिए । कसैले यो स्तूपा तत्कालिन तिब्बती सम्राट त्रिसोंग देत्सानले बनाउन लगाएको हो पनि भन्दछन्  । किवंदन्तीलाई विश्वाश गर्ने हो भने यस चैत्य निर्माणको अर्कै कथा छ । ज्याजिमा एक साधारण महिला थिइन र पूर्व जन्ममा अप्सरा भएको कारण उन्का चार पतिहरु थिए र हरेक पतिबाट उन्ले एकएक गरी चार छोरा जन्माएकि थिइन । यी चार छोराहरु मध्ये एकले घोडा, एकले सुंगुर, एकले कुकुर र एकले कुखुरा पालनको ब्यवशाय गरेका थिए । यी चारै छोराहरु ब्यवशायी भएता पनि यिनीहरुको धर्ममा ठूलो आस्था थियो र यिनीहरुले नै यो चैत्य निर्माण गर्न लगाएका थिए । चैत्य निर्माणको लागि आवश्यक जग्गा ज्याजीमाले उपलब्ध गराएकि थिइन । चैत्य निर्माणको लागि आवश्यक सामाग्रीहरु हात्ति, घोडा, खच्चर, गधा लगाएतका जनावरहरुले वोकेर ल्याएका थिए । यो स्तूपा वनाउन ७ वर्ष लागेको थियो । धेरै अवतारी लामाहरु श्वर्गबाट आई यहा वसी पुजापाठ गर्ने गरेको कारण यस चैत्यलाई संसारकै महत्व पूर्ण चैत्यको रुपमा लिइन्छ । यही चैत्य वनाएको कारण ज्याजीमाको पहिलो छोरा ताजिबु अर्को जन्ममा तिब्बतको राजा त्रिसोंग देत्सेन वन्न पुग्यो । दोश्रो छोरा फाग्जीबु वोधिसत्व शन्तराक्सिता बन्न पुगी वौध्दधर्म गुरु वने । तेश्रो छोरा ख्याजिबु रिनपोछे पद्मसंभव वन्न पुगे जस्ले धर्मनाशक राक्षसहरुको संहार गरेका थिए ।

(यो लेख ढकालको प्रकाशोन्मुख कृति विश्व आश्चार्य, विश्व सम्पदा र विश्व महत्वपूर्ण स्थल र म बाट साभार गरिएको हो ।)-सम्पादक 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज