उपचुनावको परिणाम र त्यसमा पनि विशेष गरी स्वर्णिम वाग्ले र रवि लामिछानेको विजयलाई लिएर विभिन्न प्रतिक्रिया सुन्न पाइएको छ । मूलधारे मिडिया र सोसल मिडियाका टिप्पणी रोचक छन् । तिनले नेपालको समसामयिक राजनीतिबारे धेरै कुरा बोलेका छन् । जसले जानीजानी चोट लगाउँछ उसैबाट औषधिको अपेक्षा गर्नु व्यवहारिक होइन । नेपालको अहिलेको अवस्थालाई खराब मान्ने हो भने यसको अपजस प्रस्ट रूपमा कांग्रेस, एमाले वा माओवादी पार्टीमा जान्छ । उनीहरूको अकर्मण्यता माफ गर्न योग्य छैन । उनीहरूलाई जनताको पिरमर्का र अपेक्षाबारे अवगत हुँदाहुँदै पनि व्यक्तिगत र दलीय स्वार्थलाई सर्वोपरी मानेर देशलाई यो अवस्थामा पु¥याएका हुन् । देश तथा जनताको बृहत् स्वार्थमा काम गर्न यी दलहरू सक्षम छैनन् भन्ने पटकपटक प्रमाणित भएको छ । त्यसैले, यस चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको विजयबाट पुराना राजनीतिक दलमा व्यापक सुधार होला भनेर अपेक्षा गर्न सकिन्न । राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियता अब केही समय नेपाली राजनीतिको केन्द्रविन्दुमा रहनेछ । अबदेखि मानिसहरूले कांग्रेस, एमाले वा माओवादी पार्टीले के भने वा के गरे भन्नेमा होइन, राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसमा पनि रवि लामिछानेले के भने वा के गरे भन्नेमा बढी चासो दिनेछन् । यो चासो रास्वपाका लागि भारी होला, तर यसले नेपालको राजनीतिमा एउटा नयाँ गतिशीलता र फरकपन भने अवश्य ल्याउने छ ।
नेपालमा असफल भएका राजनीतिक दलमात्र होइनन् – बृहत् नेपाली समाज समग्र रूपमा असफल भएको छ । अर्थतन्त्र धराशायी अवस्थामा छ । सार्वजनिक संस्थाहरू सेवा प्रवाहमा असफल सिद्ध भएका छन् । भ्रष्टाचार र कमिशनखोरी गहिरिएको छ । राज्यका विभिन्न निकाय (अदालत, सेना, कर्मचारीतन्त्र, आदि) दलीय प्रभावमा परेर भ्रष्ट र निकम्मा भएका छन् । त्यसैले आम मानिसमा निराशा र छटपटीले सीमा नाघेको छ । यस्तो छटपटीका बेला भएको निर्वाचनको परिणाममा मानिसले विकल्प रोज्नु अस्वाभाविक होइन । राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आम अभिरुचि र सम्मान उधुमै छ । धेरैका लागि यो अत्यासलाग्दो होला – तर यो अस्वाभाविक भने होइन । प्रचलित संरचना र पद्दतिविरुद्ध विद्रोह गर्ने मानिसको स्वभाव हो । पुराना राजनीतिक दलको अकर्मण्यताबाट आजित भएका आम मानिसले रवीन्द्र मिश्र, बालेन शाह वा ज्ञानेन्द्र शाहीलाई ठूलो सम्मान दिएको हामीले देखेका छौँ । विगत आम निर्वाचनमा कतिले राजेन्द्र लिङ्देनले नियमित राजनीतिको विकल्प देलान् भनेर पनि आश गरे र प्रजातन्त्र पार्टीका उमेदवारहरूलाई जिताए । पुराना दलको अकर्मण्यताको विकल्प खोज्ने आम मानिसको यस्तो चाहनालाई गलत भन्न मिल्दैन ।
विकल्पका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग नेपालको असफलतालाई राम्रोसँग बुझ्ने र यसको समाधानका लागि काम गर्ने क्षमता होला त ? अहिलेको मूलभूत प्रश्न यही हो । यसका लागि उल्लेख्य जनादेश पाएको यस पार्टीले भविष्यमा के गर्छ भनेर पर्खिनुपर्ने हुन्छ । जसरी बालेन शाह, हर्क साम्पाङ् वा ज्ञानेन्द्र शाहीले आफ्नो औचित्य प्रमाणित गर्ने अवसर पाएका छन् (तर त्यसमा असफल भएका छन्), त्यसैगरि रवि लामिछाने वा स्वर्णिम वाग्लेले पनि जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने अवसर पाउनुपर्छ । हामीले आशा गर्ने के हो भने उनीहरू बालेन शाह वा हर्क साम्पाङ्ग भन्दा फरक होलान् र आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्लान् । नेपालक समृद्धि मौलिक, वातावरणीय हिसाबले प्रभावकारी र रैथाने ज्ञानमा आधारित हुनुपर्छ । त्यो समृद्धि दिगो हुनसक्छ र त्यसले नेपाललाई आत्मनिर्भर बनाउनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग नेपालको समस्यालाई समग्रतामा बुझ्ने क्षमता देखिएको छैन – न त त्यसको नेतृत्वसँग समृद्धिका बारेमा चित्तबुझ्दो खाका छ ।
यस उपचुनावमा तनहुँ र चितवनका मतदाता मात्र नभएर समग्र देशका सर्वसाधारण मानिसले आशा र सम्भावनाका रूपमा हेरेका रवि लामिछाने र स्वर्णिम वाग्लेले जे–जस्तो दृष्टिकोण बोकेका छन् र त्यसलाई प्रस्तुत गरेका छन्, ती न नेपालको असफलताको यथार्थसँग नजिक छन्, न त तिनका आधारमा कुनै सकारात्मक रूपान्तरण सम्भव छ । रवि लामिछानेलाई राज्य र नागरिक तथा तिनलाई बाँध्ने नीतिनियमप्रति कुनै वास्ता र सम्मान छैन । रविका बारेमा लामो कुरा गरिरहन नपर्ला । स्वर्णिम वाग्लेले बुझेको नेपालको समस्या र यसको समाधान काँचो र सतही छ । उनी यस हिसाबमा भाग्यमानी छन् कि लोलोपोतोबाट माथि उठेर उनका सतही बुझाइमाथि प्रश्न उठाउन साहस गर्ने मानिस नेपालमा छैनन् ।
एउटा देश असफल हुँदैछ भने त्यसका कारण बहुआयामिक हुन्छन् । बहुआयामिक समस्यासँग जुध्न प्रणालीगतगत चिन्तन त चाहिन्छ नै सँगसँगै विभिन्न व्यक्ति, समूह, पक्षबिच सहकार्य र समन्वय पनि चाहिन्छ । सामाजिक सञ्जालमा आजभोलि रवि लामिछाने र स्वर्णिम वाग्लेको आलोचना सुन्नै नचाहने जमातप्रति म चिन्तित छु । अहिले अनुपयोगी सिद्ध भइसकेको आधुनिक अर्थशास्त्रीय हिसाबकिताबबाट नेपाल समृद्ध हुन सम्भव छैन । नेपालक समृद्धि मौलिक, वातावरणीय हिसाबले प्रभावकारी र रैथाने ज्ञानमा आधारित हुनुपर्छ । त्यो समृद्धि दिगो हुनसक्छ र त्यसले नेपाललाई आत्मनिर्भर बनाउनेछ । यस निर्वाचनले मानिसमा उत्साह र आशाको सञ्चार गरेको छ । यो खुशीको कुरा हो । तर, कुनै एक वा दुई नेताले देश बनाइदिने होइन । देश बनाउने काम सामुहिक र सर्वपक्षीय हुन्छ । यसमा सबैको सार्थक सहभागिता चाहिन्छ । नयाँ राजनीतिक दलबाट प्रशस्त अपेक्षा गरिरहँदा नागरिकका रूपमा हामी सबैको भूमिका पनि नबिर्सौं ।