बानेश्वर काठमाडौंदेखि कमलबजार अछामसम्मः  एक साहसिक यात्रा अनुभव

उहाँको नाम देवेन्द्र संजेल । कसरी हो कुन्नी हामी दुई फेसबुक मित्र बन्न पुग्यौं । त्यो बेला उहाँ अछाम कमल बजारस्थित दुर्गम गाउँको कालिका आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । विद्यालय भवन जीर्ण भएको कारण उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट कोष संकलन गरी दुई तले चारकोठे नयाँ विद्यालय भवन निर्माण कार्य सुरु गर्नुभएको थियो ।  हरेक नयाँ व्यक्ति वा संस्थाले विद्यालय निर्माणका लागि चन्दा दिँदा उहाँले फेसबुकमार्फत सबैलाई जानकारी गराउनु हुन्थ्यो । त्यसै क्रममा उहाँले मेरो प्रतिष्ठानसँग पनि सहयोगका लागि अनुरोध गर्नुभयो ।

नचिनेको व्यक्ति हुँदा मैले आफूले चिनेको कैलालीका श्री परेक रावल तथा अछाम कमलबजारकै श्री दिलबहादुर विष्टसँग सम्पर्क राखी उहाँ दुईको सिफारिस पठाउन देवेन्द्रजीलाई अनुरोध गरेबमोजिम उहाँले सिफारिस पत्र पनि पठाउनु भयो । तत्पश्चात विद्यालय भवन निर्माणको लागि नभै नयाँ विद्यालयको कक्षा कोठाको लागि आवश्यक १ लाख ५० हजारको डेस्क बेन्च सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोहीअनुरूप यही बैशाख महिनाको पहिलो हप्तामा देवेन्द्रजीले मलाई खबर गरी डेस्क बेन्च तयार भएको जानकारी गराउनुभयो र मैले दिल बहादुर जीसँग सम्पर्क गरी बैशाख १८ गते आफू कमलबजार आउने जानकारी गराएँ र १७ गते बिहानैको विमानबाट म नौ बजे सुर्खेत विमानस्थल ओर्लिएँ । त्यहाँबाट मैले देवेन्द्रजीलाई आफू आइपुगेको खबर गरेपछि उहाँले मलाई कर्णाली राजमार्गको बड्डीचौर आउन भन्नुभयो । विमानस्थलबाट टेम्पो लिई सुर्खेत बसपार्क र त्यहाँबाट माइक्रो बस लिई म ११ः३० बजे बड्डीचौर पुग्दा देवेन्द्रजी कैलालीको लम्कीबाट आफ्नै मोटरसाइकलमा त्यहाँ आइपुगी सक्नुभएको रहेछ ।

अभिवादनको आदान प्रदानपश्चात त्यहीँको एक रेस्टुराँमा हामीले खाना खायौ र लेकको बाटो मोटरसाइकलबाट कमलबजार पुग्ने उहाँले मलाई बताउनुभयो । पक्की राजमार्ग जाँदा १८० किलोमिटरको दूरी अनि लेकबाट झोलुंगे पुल पार गर्दै जाँदा ८० किलोमिटर मात्रै हुने र ४ घन्टामा नै कमलबजार पुगिने उहाँले मलाई बताउनुभयो । पानी पर्लाजस्तो अवस्था मोटरसाइकलमा लेकको बाटो ४ घन्टा यात्राभन्दा पहिले त मलाई डर लागेर आयो तर बाबुआमाले आफूलाई छोडेर गइसकेको र केही भइहाल्यो भने पनि बाबुआमाको बिचल्ली नहुने अनि आफ्नो एकलो ज्यान देश र गरिब जनताकै लागि हो नि भन्ने मनमा लाग्नासाथ डर एक्कासी हरायो र ठिक १२ बजे हुइँकियौं हामी दुई मोटरसाइकलमा अछामतिर ।

बड्डिचौर, बाबियाचौर हुँदै दुई घन्टामा ३५ किलोमिटर पार गर्दा हामी पञ्चपुरी गाउँपालिकाको १९०० मिटरको सबैभन्दा अग्लो लेकमा आइपुग्यांै । त्यहाँको एक छेउबाट पूर्वतर्फ बाबियाचौर उपत्यका र भेरी नदी अनि अर्को छेउबाट तल कर्णाली बगिरहेको अति मनोरम दृश्य देखिदो रहेछ । लेकको जाडो, अलि अलि चिप्लोबाटो मोटरसाइकल यात्रा सहज अवश्यै नै थिएन । सानो गल्तीले पनि ज्यान सजिलै जाने अनुमान गर्न सकिन्थ्यो । तर देवेन्द्रजी धेरैपटक त्यो बाटो भई मोटरसाइकलमा आवतजावत गरी सिद्धहस्त भइसक्नुभएको रहेछ । त्यसैले मेरो डर विस्तारै कम हुँदै गयो । अनि हामी तल झर्न सुरु ग¥यौं र ३ बजे सुर्खेत र अछाम जिल्ला जोडने छाप्रेस्थित झोलुंगे पुल भएको जंगलघाट आइपुग्यौं ।

कर्णाली नदीको किनार आलो र सुकेको माछा झुण्डाएको रेस्टुराँ अनि पसलहरु रहेछन । त्यहाँ एकएक कप अदुवा मरिच हालेको कालो चिया पिइ झोलुंगे पुल तर्दै सुर्खेत जिल्ला छोडी अछाम जिल्लाको तुरखाद गाउँ क्षेत्रको लेक चढ्नतर्फ लाग्यौं । करिब एक घन्टामा लेकमा पुग्दा पातलो पानी परिरहेको ज्यादै जाडो थियो । त्यसैले मोटरसाइकल रोकी एक चिया पसलमा छिरी पुनः एकएक कप कालो चिया पिइ पानी रोकिनासाथ हामी अगाढि बढ्यांै । जाडो बेस्सरी बढेको थियो, मेरो खुट्टा र घुँडा चिसोले कठयाङग्रिएर हिउँजस्तो भइसकेको थियो । करिब दुई घण्टा मोटरसाइकलमा लेकको तेर्सो बाटो अनि सल्लाको सुकेका पातहरु कुल्चदै कमलबजार पुग्दा बेलुकाको ५ बजिसकेको थियो । देवेन्द्रजीले मलाई सोझै त्यहाँको एक होटलको भान्साघरमै पु¥याउनु भयो । चुलामा ह्वारह्वारती दाउरा बलिरेहको थियो । हामी दुई जना चुलोमै टाँस्सियौं र पुनः कालो चिया खानतर्फ लाग्यांै । यसै बीच दिलबहादुरजी पनि आइपुग्नु भयो र विद्यालयको ५ मिनेटको दूरीमा आफ्नो घर भएको बताउँदै होटलमा नबस्न अनुरोध गर्नुभयो । उहाँको अनुरोधलाई स्विकार्दै हामी तीनै जना दिलबहादुरजीको घरमा गयौं । तात्तातो खाना तयार रहेछ मज्जाले खायौँ । देवेन्द्रजी भने पहिलेको आफ्नो डेरामा सुत्न जानुभयो र म भने दिलबहादुरजीको मैं बसे र भोलिपल्ट बिहानैै रोटी तरकारी खाइ ८ बजे कालिका आधारभूत विद्यालय पुगी डेस्क बेन्च हस्तान्तरण गरी सो को रकम भुक्तानी गरी ९ बजे हामी पुनः मोटरसाइकलमा सोही बाटो सुर्खेततर्फ फर्कियौं ।

हिजोको बाटोको अनुभव भइसकेको कारण मेरो मनमा डर हराइसकेको थियो । ११ बजेतिर तुरखाद आइपुगी त्यहाँको एक रेस्टुराँमा रोटी तरकारी खाई अनि कर्णाली जंगलघाटमा एकएक कप कालो चिया पिई ४ बजे बाबियाचौर आइपुग्दा सुर्खेत जाने अन्तिम मिनिवस छुटिसकेको रहेछ । त्यसैले बड्डिचौरतर्फ हानिने क्रममा ७ किलोमिटर दूरी बाँकिरहेको स्थलमा मिनिवस भेटियो । देवेन्द्रजी त्यतैबाट विदा लिइ कैलालीतर्फ लाग्नुभयो । म भने त्यहीँ मिनीबसमा बेलुका ६ बजे सुर्खेत वीरेन्द्रनगर पुगी बुलबुले होटलमा रात बिताई भोलिपल्ट दिनभर वीरेन्द्रनगर घुमी बेलुका ६ बजे विमानबाट काठमाडौं फर्किएँ ।  

यसपालिको मेरो भ्रमणले मेरो जिन्दगीको लागि केहि नयाँ कुरा दियो । ५ घन्टा लेकको बाटो मोटरसाइकलमा जोखिम यात्रा गर्नु, कमलबजारको लेक पुगेपछि त्यसैको तल रहेको ढकालहरुको उद्गमस्थल मानिने ढाकुको अवलोकन गर्न पाउनु, सुर्खेत जिल्ला र कर्णाली प्रदेशमा पहिलो पटक पाइला टेक्नु अनि ३४ वर्षपछि पुनः अछाम जिल्ला पुग्नुले केही नयाँ रेकर्ड बनायो । खतरा मोलेर कार्य सिद्ध गरेर फर्केकोले होला आफूमा नयाँ ऊर्जा र साहस बढेको महसुुस गरेको छु ।       

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज